Health packages
Rehabilitation care center
Lifestyle medicine
Yoga therapy & retreat
Ayurveda treatment & panchakarma

योग चिकित्साले कसरी फाइदा पुर्याउछ ?


नसर्ने रोगको नियन्त्रण तथा उपचारमा योग चिकित्साले निम्न तरिकाहरूबाट फाइदा पुर्याउछः

१. सक्रियता र विश्रामको चक्रीय प्रयोग

सक्रियता तथा आकस्मिक बेलामा Sympathetic Nervous System को काममा वृद्दि हुन्छ भने विश्राममा Parasympathetic Nervous System सक्रिय रहन्छ। अत्यधिक तनावले मानिसको शरीर अनुसार यिनीहरूको घट्ने, बढ्ने वा असन्तुलन भई नसर्ने रोग लाग्दछ। यी दुवै  System को अत्यधिक सक्रियताबाट मुटुरोग, डर, मधुमेह, अनिद्रा, कोरोनरी हार्ट डिजिज, बाथ रोग, उच्च रक्तचाप जस्ता रोग तथा पेटको अल्सर, दम, बारम्बार रुघाखोकी उत्पन्न हुने हुन्छ। यी दुवै को सन्तुलनबाट मात्र स्वास्थ्य प्राप्त हुन्छ। जब सक्रियता र विश्रामलाई पटक पटक दोहोराइन्छ तब दुवैको सन्तुलन हुन्छ। यसबाट शरीरमा प्राणको सन्तुलन भई रोग लाग्न बाट बच्न सकिन्छ भगवत् गीतामा भनिए अनुसार ‘समत्वम् योग उच्यते’ को अवस्था पनि यी दुवैको सन्तुलनबाट मात्र प्राप्त हुन्छ। यसबाट नसर्ने रोग हुने नदिन तथा भइसकेको अवस्थामा उचित व्यवस्थापन गर्न सहयोग पुग्दछ |

२. मनको प्रशमन

अधिकांश नसर्ने रोगमा मनको प्रभाव रहन्छ। मन भनेको विचारहरूको सङ्ग्रह हो। मनको अत्यधिक वेगले शरीरभित्रको प्राणको सञ्चालन बिग्रिन्छ जुन ठाउँमा प्राण/vital energy बढी वा कम हुन्छ त्यो ठाउँमा रोग उत्पन्न हुन्छ। त्यसैले नसर्ने रोगको बदलिँदो रोक्न मनको नियन्त्रण हुनुपर्दछ। किनकि शरीरलाई नियन्त्रण गर्ने साधन नै मन हो। योग वशिष्ठका अनुसार मनको प्रशमन गर्ने उपाय नै योग हो। जब मनको शमन हुन्छ तब हामी आफ्नो स्वरूप – सत् चित् र आनन्दमा हुन्छौ। यही नै योगको परम उद्देश्य हो। यो नै विश्व स्वास्थ्य सङ्गठनले परिभाषित गरेको स्वस्थ हुनु हो सधैँ होशमा र आनन्दमा रहने अभ्यासपछि जीवन सन्तुलित हुन्छ। साथै शरीरमा Homeostasis कायम हुन्छ। त्यस्तै गहिरो विश्रान्ति सङ्गै Autonomic Nervous System र Endocrine System मा सन्तुलन भई स्वस्थ हुन सकिन्छ। यसका लागि आसन, प्राणायाम, धारणा, ध्यान, भक्ति, सेवा आदि प्रयोग गरिन्छ | यसबाट नसर्ने रोगबाट मुक्ति पाउन सकिन्छ। त्यस्तै यसबाट Chronic Inflammation कम भई धेरै नसर्ने रोगहरू कम हुन्छन्।

३. आनन्दको विश्लेषण

हामी सबै आनन्दबाट निर्मित हुन्छौ। सधै आनन्द खोज्दछौं यसका लागि के ले  खुसी र आनन्द दिन्छ भनी खोजी हिंड्दछौ अनि नयाँ नयाँ खुसी हुन सकिने तरिका खोजी गर्दछौ जुन अन्त्यहीन यात्रा बन्छ। यसबाट कहिल्यै पनि आनन्द र खुसी मिल्दैन। के ले खुसी दिन्छ भन्नुका सट्टा खुसी के हो भनेर खोज्न सिकाउनु आनन्दको विश्लेषण हो। जब मनको शमन हुन्छ तब मात्र वास्तविक शान्ति र खुसी प्राप्त हुन्छ | मन शान्त हुँदा शरीरमा इन्डोरफिन तथा अक्सिटोसिन निस्किन्छ र गहिरो विश्राम उत्पन्न भई उपचारको काम गर्छ  | वास्तवमा मनको शान्ति हुनु नै आनन्द प्राप्त हुनु हो।यो नै योग चिकित्साको प्रमुख उद्देश्य हो।

४. होशको अभ्यास

यो समग्र योग चिकित्साको अभ्यास पनि हो। यसको प्रयोग पाश्चात्य जगतमा Mindfulness Meditation का रूपमा गरिँदै आएको छ जुन गौतम बुद्ध तथा गोरखनाथ ले ध्यानका प्रमुख तरिका मा प्रयोग गरेका थिए। यसमा प्रत्येक क्षण विगत तथा भविष्यप्रति मूल्याङ्कन विनै वर्तमानमा क्षण क्षणप्रति होशको अभ्यास गरिन्छ | जब वर्तमानमा जिउने कला सिकिन्छ तब नसर्ने रोग सँग सम्बन्धित अधिकांश जीवनशैली जन्य कारणबाट मुक्त हुन सकिन्छ | यसको चिकित्सकीय प्रयोगका बारेमा धेरै अनुसन्धान भई विभिन्न अस्पतालमा प्रयोग समेत भइसकेका छन्। यसबाट मन शान्त भई शरीरमा प्रत्यक्ष असर पर्दछ। सधैभरी होशमा रहिरहिने हुनाले जीवनशैलीजन्य रोगका प्रमुख कारणको रूपमा रहेका अस्वस्थकर व्यवहारको व्यक्ति स्वयं बाटै नियन्त्रण हुन सक्छ। फलस्वरूप नसर्ने रोगमा फाइदा हुन्छ। त्यस्तै नसर्ने रोग भइसकेको अवस्थामा पनि रोगको असर कम गरी जीवनको गुणस्तर बढाउन सकिन्छ।

५. विसर्जन तथा समग्रताको स्वीकारोक्ति

आफ्नो सधैभरि आनन्दमा रहने स्वभावलाई बिर्सेर हामी विशिष्ट र विजयी बन्ने दौडमा छौं  | फलस्वरूप हाम्रो चेतना संक्रिण भई सधै भरि तनावको अवस्था उत्पन्न हुन्छ | यस्तो तनावबाट मस्तिष्कको Limbic Cortex  मा अत्यधिक सक्रियता बढी स्नायुगत (nervous system)  तथा अंतर्श्रावी  पद्दति ( endocrine system) खराब भई नसर्ने रोग उत्पन्न हुन सहयोग पुग्दछ  | त्यस्तै तनावको अत्यधिक प्रतिक्रिया (Hyper responsiveness) बाट उत्पन्न हुने  दम, माइग्रेन, अम्लपित्त, मानसिक बिचलन आदि तथा auto immune Disease लाई समेत योगबाट फाइदा हुन्छ | यसका लागि जीवनको अनावश्यक दौड को विसर्जन गरी समग्र जीवनको स्वीकार गर्नु पर्छ | त्यस्तै कर्मफल बिनाको सामाजिक सेवा, भजन, कीर्तन, नृत्य बाट तनाव को विसर्जन तथा जीवनको अन्त्यहीन दौड समाप्त भई मस्तिष्कमा शान्ति उत्पन्न हुन्छ | यस्तो विसर्जन तथा स्वीकारोक्ति बाट HEart Rate Variability, जसको विकृति नसर्ने रोगमा कारण बन्दछ,  मा पनि सकारात्मक असर पार्दछ  |

©2024 Aaradhya | Website by Zookti