Health packages
Rehabilitation care center
Lifestyle medicine
Yoga therapy & retreat
Ayurveda treatment & panchakarma

योग चिकित्साको महत्व


डा. बिनोद घिमिरे

योग तथा पुनर्स्थापना विशेषज्ञ

योगले मानवीय चेतनाको अधिकतम विकास गरी सम्पूर्ण जगत्को रहस्य सिकाउँदै आनन्दको उच्चतम अनुभूति गराउँछ । मनको प्रशमन गर्ने उपाय नै योग हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा स्वस्थ हुनु हो । यो सबैको प्राप्तिको आधार नै योग चिकित्सा हो ।

अधिकांश नसर्ने रोगका कारणहरूमा असन्तुलित खानपान, व्यायामको कमी, तनाव, कुलत जस्ता कुराहरू पर्दछन्। यी सबैलाई हटाई योगले सन्तुलित जीवन जिउन सिकाउनुका साथै रोगलाई निको पार्दछ। योग अभ्यासले क्यान्सर, मधुमेह, माइग्रेन, बाथ रोग, उच्च रक्तचाप, उच्च कोलेश्टेरोल, दम, ढाड दुख्ने, मानसिक तनाव, डिप्रेशन, सिजोफ्रेनिया, मोटोपन, अम्लपित्त, कब्जियत जस्ता नसर्ने रोग रोक्न तथा भइसकेपछि कम गर्न सहयोग गर्दछ |

योगले आनन्दमा आधारित जीवनशैली परिवर्तन सिकाउँछ, जुन सहज र दीर्घकालीन हुन्छ। तर अहिले चलिरहेको जीवनशैली परिवर्तन डरमा आधारित छ, जुन मानिसहरूलाई थाहा हुँदाहुँदै पनि अवलम्बन गर्न गाह्रो हुन्छ ।

योग अभ्यासले सबै रोग तथा चोटपटकमा प्रतिरक्षा प्रणाली लाई मजबुत बनाई रोगसँग लड्न सहयोग गर्नुका साथै भविष्यमा रोग हुनबाट समेत बचाउँछ । त्यसैले गर्दा वर्तमान समयमा महामारीका रुपमा रहेको कोभिड-१९ बाट बच्न तथा भइसकेको अवस्थामा यसका असरहरुलाई न्यूनीकरण गर्न सहयोगी हुने ठानिएको छ |

योग चिकित्सा प्रयोगका अनुसन्धानहरू

योगले हाइपोथालामसमा भएको तृप्ति केन्द्र, सटाइटी सेन्टरमा प्रभाव पारी अनावश्यक भोजनमा नियन्त्रण गर्दछ | यसले मोटोपन घटाउन सहयोग गर्दछ |

योगले रगतमा खराब बोसोको मात्रा कम गरी असल बोसोको मात्रा बढाउँछ, जसले गर्दा रक्त नलीमा जमेको बोसो कम गर्दछ| यसबाट हृदयघात, मस्तिष्कघात तथा रक्तसंचारसम्बन्धी रोगहरूको नियन्त्रण तथा उपचार गर्न सकिन्छ।

योगले मुटुका रक्त नली साँगुरिएर हुने कोरोनरी हार्ट डिजिजमा फाइदा(Benefit) गर्दछ |कोरोनरी हार्ट डिजिजमा अमेरिकी चिकित्सक डिन अर्नेसले रिभर्सिङ्ग हार्ट प्रोग्राम प्रयोग गरी विना औषधि यौगिक चिकित्साको उपयोगिता प्रमाणित गरेका छन् । जुन हामी सबैका लागी उपयोगी छ ।

योगले स्वतन्त्र नाडी संस्थान अन्तर्गतको सिम्पाथेटिक नर्भस सिस्टमको गतिविधिलाई कम गरी उच्च रक्तचाप तथा तनावलाई कम गर्दै  विश्रान्ति दिन्छ ।

योगले भेगस नर्भको गतिविधि बढाई मुटु, श्वासको गति र पसिना कम गर्दछ |

योगले नेचुरल किलर सेलको संख्या बढाई क्यान्सर सँग लड्न सहयोग गर्छ । क्यान्सरको उपचारमा प्रयोग गरिने किमो थेरापी, रेडियो थेरापी तथा सर्जरीका दुष्प्रभाव अन्त गरी बिरामीका पीडा, दुख, मानसिक तनाव, डिप्रेशन घटाइ जीवनस्तर सहज बनाउँछ  ।

योगले सेरोटोनिन, गाबा जस्ता स्नायु प्रणालीसँग सम्बन्धित रसायन बढाइ मानसिक तनाव, डिप्रेसन जस्ता मानसिक रोगमा फाइदा(Benefit) गर्दछ |

योगले मुड डिसर्डर, सिजोफ्रेनिया, सोमाटाइजेशन, डर, चिन्ता जस्ता मानसिक रोगको उपचार गर्न तथा उपचारमा प्रयोग भएका औषधिका दुष्प्रभाव कम गर्न सहयोग गर्दछ |

योगले इन्सुलिनको निर्माण गर्न तथा इन्सुलिनको अवरोधलाई कम गरी रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ |यसबाट मधुमेह नियन्त्रण गर्न सकिन्छ ।

योगले मस्तिष्कको भावनात्मक केन्द्र, लिम्बिक कर्टेक्स लाई प्रभावित पारी सम्पूर्ण स्नायु प्रणालीको काममा सहयोग गर्दछ |

योगले शरीर तथा मनलाई गहिरो विश्राम दिई अम्लपित्त, ढाड दुख्ने समस्या, माइग्रेन, दम, महिनावारी वेदना, महिनावारी अनियमितता, बाझोपन तथा कब्जियत निर्मूल गर्दछ |

योगले शरीर तथा मनलाई गहिरो विश्राम दिई प्रतिरक्षा प्रणालीको अति प्रवृत्तिबाट उत्पन्न हुने एलर्जी तथा अटो इम्युन डिसर्डर कम गर्दछ |त्यसैले आमवात, एलर्जीक राइनाइटिस, मल्टिपल स्केलोरोसिस, क्रोन्स डिजिज, अल्सरेटिभ कोलाईटिस, स्पोन्डाइलाईटिस आदि रोगमा फाइदा(Benefit) हुन्छ ।

योगले मेलाटोनिन, इन्डोर्फिन, अक्सिटोनिन जस्ता रसायन बनाइ खुसी, प्रेम तथा आनन्द प्रदान गर्दछ |

योगले धूम्रपान, मद्यपान तथा लागूपदार्थको सेवनको चाहना कम गर्छ तथा सेवन्बाट उत्पन्न दुष्प्रभाव कम गरी कुलतबाट छुटकारा दिलाउँछ ।

योगले शरीरमा एन्टि अक्सिडेन्टको मात्रा बढाइ बुढ्यौली कम गर्दछ |

योगले मनलाई शान्त पार्दै मस्तिष्कको क्रियाशीलता बढाउँछ ।

योगले रोग तथा चोटपटक पछिको पुनर्स्थापनामा सहयोग गर्दछ |

योगले स्ट्रेस हर्मोन, कोर्टिशलको मात्रा घटाइ तनाव कम गर्दछ |

चिकित्सा क्षेत्रका विद्यार्थीमा गरिएको अनुसन्धान अनुसार योगले  विद्यार्थीमा परीक्षा अगाडीको तनाव कम गर्दै कार्यक्षमता समेत बढाउँछ ।

योगका माध्यमबाट स्वस्थ जीवन जिउँदै सम्पूर्ण मानव रहस्यको पहिचान गरी शान्ति, सहिष्णुता र एकताका लागि अगाडि बढ्नुपर्छ ।

योग चिकित्सामा ध्यान दिनुपर्ने कुराहरू

  • जहिले पनि चिकित्सा परिषदमा दर्तावाल योग चिकित्सक वा योगकर्मी को निगरानी मा मात्रै योग चिकित्सा गर्ने/गराउने गर्नुपर्दछ |
  • योग चिकित्सा केन्द्रमा केही समय चिकित्सकको निगरानीमा बसेर राम्ररी सिकेर मात्र अभ्यास गर्ने/गराउने गर्नुपर्दछ | १-२  घण्टाका घरमै गरिने अभ्यासहरू केही मात्रामा लाभदायक भए पनि भित्री रूपमा सङ्ग्रहित भावना, तनावलाई कम गर्न लामो समय लाग्न सक्छ | कतिपय अवस्थामा आफै अभ्यास गर्न असम्भव पनि हुन्छ | त्यसर्थ आवासीय कार्यक्रम मार्फत सुरुमा सिकेर योग चिकित्सा गर्ने/गराउने गर्नुपर्दछ |
  • व्यक्तिलाई अभ्यास गराउँदा झ्याल-ढोका नथुनिकनै सकेसम्म शरीरलाई नछुइकनै गराउनु पर्दछ | छोएर गराउनु परेमा पहिले अनुमति लिएर मात्रा छोएर अभ्यास गराउनु उपयोगी हुन्छ |
  • कुनै पनि व्यक्तिको व्यक्तिगत विवरणलाई गोप्य राख्नुपर्दछ |
  • कतिपय अवस्थामा बिरामी बाहेक घरका अरू सम्बन्धित व्यक्तिहरू सँग पनि रोग र परिवारको अवस्था बारे जानकारी लिनु आवश्यक हुन्छ |
  • एउटा रोगमा पनि व्यक्तिको संस्कार, रुचि र ज्ञानका कारणले फरक फरक तरिका(Method)ले अभ्यास गराउनु पर्दछ | यसका लागि सर्वप्रथम व्यक्तिका रुचि, ज्ञान, संस्कार, रोगका बारेमा विस्तृत जानकारी हुनु जरुरी हुन्छ | त्यसपछि मात्र योग अभ्यास गर्ने/ गराउने गर्नुपर्छ |
  • एकीकृत रूपमा सबै योगका अभ्यासहरू(ज्ञान, भक्ति, राज, कर्म आदि) लाई प्रयोग गर्दा छिटो मन शान्त भई योगचिकित्सा गर्न सहज हुन्छ |
  • भिड/ सभा/मन्च भन्दा पनि व्यक्ति पिच्छे फरक फरक(personalized approach) गराउँदा बढी लाभ हुन्छ |
  • योग चिकित्सा गर्दा व्यक्तिले प्रयोग गर्दै आइरहेका औषधि वा उपचारलाई हेरफेर गर्नुपर्ने हुन सक्छ | यसर्थ योग सम्बन्धित चिकित्सकको परामर्शमा अभ्यास गर्नु नितान्त आवश्यक हुन्छ |
  • निरन्तर रूपमा रोगी/व्यक्तिको स्वास्थ्य अवस्थाको जाँच/ परीक्षण गर्दै योग चिकित्सा गर्नु/ गराउनु उत्तम हुन्छ |
  • चिकित्सकको निगरानीमा सिकेपछि आफै गर्दा निम्न कुराहरूमा ध्यान दिनु/ सचेत गराउनु आवश्यक हुन्छ :
    • व्यक्तिको  सामर्थ्य अनुसार मात्र अभ्यास गर्ने/गराउने गर्नुपर्दछ |
    • सक्रियता र विश्राम दुवैलाई एकपछि अर्को हुने गरी अभ्यास गर्ने/गराउने गर्नुपर्दछ |
    • विशेष रूपमा उल्लेख नभएको अवस्थामा बाहेक नाकबाट  मात्रै सास फेर्ने अभ्यास गर्ने/गराउने गर्नुपर्दछ |
    • सम्पूर्ण अभ्यास  रूपमा सहज र सजग भई गर्ने/गराउने गर्नुपर्दछ |
    • प्रतिस्पर्धाको भावना नभई आनन्द र समर्पणको भावबाट अभ्यास गर्ने/गराउने गर्नुपर्दछ |
    • सकेसम्म बिहान सूर्योदय हुनुभन्दा १-२ घण्टा पहिले(ब्रम्ह मुहूर्त) मा अभ्यास गर्ने/गराउने गर्नुपर्दछ | अरू समयमा अभ्यास गर्ने/गराउने गर्नुपरेमा सामान्यता ठोस खाना खाएको कम्तीमा ३ घण्टापछि उत्तम हुन्छ |
    • हरेक अभ्यासका सावधानी(Precaution)लाई विशेष ध्यान दिनु जरुरी छ |
    • शान्त, मनोरम र प्राकृतिक स्थानमा अभ्यास गर्ने/गराउने गर्नुपर्दछ |
    • अभ्यास गर्दा हलुका र खुकुलो कपडा लगाउनु उपयोगी हुन्छ |
    • सके सम्म अभ्यास गर्नु भन्दा अगाडी नुहाउनु उपयोगी हुन्छ |
    • अभ्यासका क्रममा सात्विक भोजन गर्नु उपयोगी हुन्छ |
    • निश्चित समयमा निरन्तर अभ्यास गर्नु लाभदायक हुन्छ |
©2024 Aaradhya | Website by Zookti