Health packages
Rehabilitation care center
Lifestyle medicine
Yoga therapy & retreat
Ayurveda treatment & panchakarma

योग चिकित्साको परिचय


योग शब्दको अर्थ जोड्नु  हुन्छ । आत्माको पर आत्मासँगको मेल वा जोडलाई योग भनिन्छ | योगले मानवीय चेतनाको अधिकतम विकास गरी सम्पूर्ण जगत्को रहस्य सिकाउँदै आनन्दको उच्चतम अनुभूति गराउँछ । मनको प्रशमन गर्ने उपाय नै योग हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा स्वस्थ हुनु हो । यो सबैको प्राप्तिको आधार नै योग चिकित्सा हो ।

मनको अत्यधिक बेचैनी वा संस्कारबाट शरीरमा रोग उत्पन्न हुने प्रक्रियालाई रोगको प्रसव भनिन्छ | भने रोग तथा मनका विकारहरूबाट मुक्त भई आफ्नो स्वरूप वा आनन्दमा फर्कनु प्रति प्रसव हो। यो नै योग चिकित्सा हो।

भगवान शिव, गौतम बुद्ध तथा हजारौँ मुनिहरूको साधना भूमिका रूपमा रहेको नेपाल योगको उद्गम स्थल हो। हठ योगका विभिन्न साधना पद्दतिका विकास नेपालमै हुनु तथा योगीलाई राजवैद्यका रूपमा हेर्ने कुराले प्राचीन समय देखि नै नेपाल योग भूमि हो भन्ने पुष्टि हुन्छ । प्राचीन कालदेखि ऋषिहरूले विकसित गरेको योग साधनाका साथसाथै चिकित्साको रूपमा रहेको आयुर्वेदको सत्वावजय चिकित्सा पनि हो ।

प्राचीन समयमा हठ योग, तन्त्रयोग, मन्त्रयोग, राजयोग, कर्मयोग, ज्ञान योग जस्ता विभिन्न योग प्रमुख रूपमा रहेका थिए । मानव अस्तित्वमा ५ तह हुन्छन्, जसलाई पञ्चकोष भनिन्छ | तैत्तिरीय उपनिषदका अनुसार पञ्चकोषमा अन्नमयकोष वा भौतिक शरीर, प्राणमय कोश, मनोमय कोष, विज्ञानमय कोष र आनन्दमय कोष स्थूलदेखि  सूक्ष्मसम्म पर्दछन् । स्थूल कोष क्रमशः सूक्ष्म कोषबाट नियन्त्रित हुन्छन्। आनन्दमय कोष, जो कारण शरीरको रूपमा रहेको हुन्छ, त्यसबाट नै क्रमशः अरू स्थूलतर कोषहरू निर्मित तथा नियन्त्रित हुन्छन्। यी सम्पूर्ण तहको सन्तुलन गर्दै सबै तहबाट माथि उठ्दै चेतनाको उच्चतम अवस्थामा पुग्नु नै योगको लक्ष्य हो ।

वर्तमान समयमा बदलिँदो जीवनशैली, खानपान, तनाव, कुलत का कारण विभिन्न नसर्ने रोगको बिगबिगी बढेको छ । हामीले जीवनशैली परिवर्तन गर्ने क्रममा प्रमुख रूपमा यी कुराहरू नगर्ने भन्छौ जुन डरमा आधारित छ । जस्तो कि चुरोट पियो भने क्यान्सर हुन्छ, तनाव लियो, मद्यपान गर्यो भने उच्चरत्तचाप हुन्छ । यो डर देखाई जीवनशैलीमा नियन्त्रण गर्ने विधि हो । त्यसैले जीवनशैली परिवर्तनको यो आधार मान्छेहरूलाई थाहा हुँदाहुँदै पनि दीर्घकालीन र उपयोगी छैन । तर योगमा आधारित जीवनशैली परिवर्तनबाट मानिसमा खुसी र आनन्द आउने हुनाले जीवनशैली परिवर्तन सहज र दीर्घकालीन हुन्छ ।

योगचिकित्साले मानव अस्तित्वका पञ्चकोषमा क्रमशः अन्नमय देखि आनन्दमय कोष सम्मका विभिन्न तरिकाहरू उपयोग गर्दछ | आधुनिक चिकित्सा प्रमुख रूपमा भौतिक शरीरमा मात्र केन्द्रित छ भने योगचिकित्सा पञ्चकोषमा आधारित छ । अनाधिज व्याधिमा प्रमुख रूपमा आधुनिक चिकित्सा फलदायी छ भने आधिज व्याधिमा योगचिकित्सा फलदायी छ । त्यसैले दुवै चिकित्साको संयुक्त उपयोग आवश्यक छ ।

अन्नमय कोषमा सात्विक आहार, आसन, क्रिया, मुद्राको प्रयोग गरिन्छ |प्राणमय कोशमा प्राणायामको प्रयोग गरिन्छ |मनोमय कोषका लागि भजन, कीर्तन, धारणा, ध्यान को प्रयोग गरिन्छ | त्यस्तै विज्ञानमय कोषमा यौगिक सल्लाह, चिन्तन, मनन तथा आनन्दमय कोषमा आनन्दका साथ कर्मफलको आसबिनाको सेवा पर्दछन् ।

अधिकांश नसर्ने रोगका कारणहरूमा असन्तुलित खानपान, व्यायामको कमी, तनाव, कुलत जस्ता कुराहरू पर्दछन्। यी सबैलाई हटाई योगले सन्तुलित जीवन जीउन सिकाउनुका साथै रोगलाई निको पार्दछ । योग अभ्यासले क्यान्सर, मधुमेह, माइग्रेन, बाथ रोग, उच्च रक्तचाप, उच्च कोलेश्टेरोल, दम, ढाड दुख्ने, मानसिक तनाव, डिप्रशेन, सिजोफ्रेनिया, मोटोपन, अम्लपित्त, कब्जियत जस्ता नसर्ने रोग रोक्न तथा भइसकेपछि निर्मूल पार्न सहयोग गर्दछ |

योग वशिष्ठका अनुसार दुई किसिमका रोग वा व्याधि हुन्छन् । आधिज र अनाधिज व्याधि।

आन्तरिक कारणले हुने रोगलाई आधिज व्याधि भनिन्छ | भने बाहिरी चोटपटक, विषादी र जीवाणुका कारणले हुने रोगलाई अनाधिज व्याधि भनिन्छ |सम्पूर्ण अस्तित्व सत् चित् र आनन्द रुपी ब्रम्हबाट बनेको छ जसको सानो अंश हामी मनुष्य पनि हौ । तर हामी हाम्रा मनका विकारहरू, वेग वा वृत्तिहरूका कारणले हाम्रो स्वरूपमा स्थित छैनौ । यस्तो व्याधि आधिज व्याधि अन्तर्गतको सार व्याधि हो भने मनका कारण शरीरमा विभिन्न लक्षणहरू उत्पन्न हुनु सामान्य आधिज व्याधि हो । मनको अत्यधिक बेचैनी वा संस्कारबाट शरीरमा रोग उत्पन्न हुने प्रक्रियालाई रोगको प्रसव भनिन्छ | भने रोग तथा मनका विकारहरूबाट मुक्त भई आफ्नो स्वरूप वा  आनन्दमा फर्कनु प्रति प्रसव हो । यो नै योग चिकित्सा हो ।

योगचिकित्सा शारीरिक, मानसिक रोगका साथै जन्म मरणको बन्धनबाट मुक्त गराई आफू आफैमा स्थित हुने वा स्व मा स्थ हुने विधि हो ।

योग अभ्यासले सबै रोग तथा चोटपटकमा प्रतिरक्षाप्रणाली लाई मजबुत बनाई रोगसँग लड्न सहयोग गर्नुका साथै भविष्यमा रोग हुन्बाट समेत बचाउँछ ।

योगले पुनर्स्थापनामा समेत सहयोग गर्दछ |पुनर्स्थापना भन्नाले रोग, चोटपटक, मानसिक असन्तुलन आदिबाट पुन सामान्य अवस्थामा फर्काउनु अथवा सो हुन नसकेमा भईरहेको अवस्थामा अत्यधिक सहजता ल्याउनु भन्ने बुझिन्छ । योग पुनर्स्थापना विशेष गरी हृदयघात, मस्तिष्कघात, ठुला चोटपटक पछि हुने शारीरिक तथा मानसिक असक्षमता, मानसिक तनाव, क्यान्सर,  कुलत मा रहेका बिरामीहरूलाई पुन सामान्य अवस्थामा फर्काउनु अथवा उनीहरूका दैनिक गतिविधिहरू सहज गराउन उपयोगी हुन्छ । वैज्ञानिक अध्ययनहरूमा सामान्य पुनर्स्थापना भन्दा यौगिक पुनर्स्थापना बढी उपयोगी भएको पाइएको छ ।

योगले आनन्दमा आधारित जीवनशैली परिवर्तन सिकाउँछ, जुन सहज र दीर्घकालीन हुन्छ । तर अहिले चलिरहेको जीवनशैली परिवर्तन डरमा आधारित छ, जुन मानिसहरूलाई थाहा हुँदाहुँदै पनि अवलम्बन गर्न गाह्रो हुन्छ ।

©2024 Aaradhya | Website by Zookti